वीरगंज , १२ फागुन –
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट र बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरिएको छ। बीमा ऐन २०७९ को दफा १४० बमोजिमका मुद्दामा कारबाही तथा निर्णय गर्ने अधिकार जिल्ला अदालतलाई दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका लागि सार्वजनिक बिदा निर्धारण गर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।
अन्तमा, बैठकले जेनजी परिषद गठन गर्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ।









