जनकपुरमा दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

जनकपुरधाम, १३ फागुन —

मिथिलाको ऐतिहासिक र धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ।

“सीमाभन्दा परका कथाहरू जहाँ संस्कृति र सिनेमाको भेट हुन्छ” भन्ने नारासहित फागुन ८ गतेदेखि चार दिनसम्म चलेको महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन गरिएको थियो।

समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिएको थियो। अन्तर्राष्ट्रिय प्यानोरमा अन्तर्गत डेभिड कासाल्स रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक, शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रीम्स’ उत्कृष्ट फिचर कथानक चलचित्र घोषित भयो।

रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको ‘हमार रामलिला’ उत्कृष्ट फिचर वृत्तचित्र, बार्तोज जार्जिकीको ‘फियर/स्टार्च’ उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भए।

विद्यार्थी प्यानोरमामा काथ्रिन एलिस कोभालेन्कोको ‘बिल्ट अन होप’ उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको ‘क्याट्स’ उत्कृष्ट कथानक फिल्म घोषित भए।

क्षेत्रीय प्यानोरमामा विप्लव विश्वासको ‘सकार बकार (रिभर रेड)’ र नेपाली प्यानोरमामा निर्मल पौडेलको ‘नीलो आकाश’ र सृजनराज पाण्डेको ‘मित्क्पा’ सम्मानित भए।

महोत्सव संयोजक कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए।

उनले विदेशी र नेपाली फिल्मकर्मीलाई ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदामा आधारित फिल्म निर्माण गर्न आह्वान गरे।

महोत्सव अवधिभर चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र चलचित्र पर्यटनसम्बन्धी छलफल सत्र पनि सञ्चालन गरिएको थियो।

सम्बन्धित पोस्टहरुः