जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छः उपसभापति शर्मा

महोत्तरी, १३ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताउनुभएको छ ।

कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वरमा आज आयोजना गरेको चुनावी कोणसभामा उहाँले परिवर्तका लागि जेनजीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्नुभयो ।

उपसभापति शर्माले जेनजीकै मागअनुसार नै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो ।

“गत भदौमा भएका जेनजी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए । त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ, युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ । देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ”, उहाँले भन्नुभयो ।

उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिनसक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सम्बन्धित पोस्टहरुः