रौतहट, १४ फागुन । दुर्गाभगवती गाउँँपालिका ४ का वडाध्यक्ष रामानन्द यादव बालिका अपहरण प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका छन। जिल्ला अदालत मकवानपुरले फागुन ११ गते उनलाई थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले १४ वर्षीया बालिका अपहरण अभियोगमा मुद्दा दर्ता भएका वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको अदालत स्रोतले जनाएको छ। पीडित बालिका दुर्गाभगवती ४ छतौनाका रहेको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा रान्धिर यादव, अनितादेवी यादव, मनतजिर यादव, मेनुकाकुमारी यादव र काजलकुमारी यादव फरार छन। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बालिका सम्पर्कविहीन भएपछि उनका बुवा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए।
अदालतको आदेशपछि प्रहरीले वडाध्यक्ष रामाननदलाई पक्राउ गरी कारागार कार्यालय भीमफेदीमा राखेको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र दफा ८० बमोजिम थुनुवा पूर्जी जारी गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
वडाध्यक्ष यादवमाथि नेपाल र भारतको नागरिकता विषयमा आरोपमा छानविन समेत भईरहेको छ । यादव तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।









