पर्सामा अन्य जिल्लाभन्दा एक साताअघि नै मदिरा बिक्री बन्द गर्ने निर्णयप्रति मदिरा व्यवसायीको आपत्ति

वीरगंज, १५ फागुन ।  पर्सा मदिरा व्यवसायी संघले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउंदै मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब ७ दिन अगाडि लागू गरेको विषयप्रति पर्सा जिल्लाका सम्पूर्ण मदिरा व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अन्य धेरै जिल्लाहरूमा मदिरा बिक्री वितरण फागुन १८ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ तर पर्सा जिल्लामा मात्र फरक मिति तोकिनु व्यवसायीहरूको लागि अत्यन्त अन्यायपूर्ण, विभेदपूर्ण र अन्योलपूर्ण देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।  एउटै देशभित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक नियम लागू हुनु उचित मान्न नसकिने पर्सा मदिरा व्यवसायी संघले ठहर गरेको छ ।

ज्ञापनपत्रमा मदिरा व्यवसाय केवल व्यापार मात्र नभई हजारौं परिवारको जीविकोपार्जनको आधार हो । यस व्यवसायमा संलग्न व्यवसायीहरूले राज्यलाई नियमित रूपमा कर तिर्दै आएका छन् र सोही करबाट राज्य सञ्चालनमा समेत योगदान पुगिरहेको छ। तर यस्ता निर्णयहरू बिना स्पष्ट कारण र बिना समान मापदण्ड लागू गरिँदा व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा पर्ने अवस्था सिर्जना भएको छ। विशेषगरी अहिलेको अवस्थामा धेरै व्यवसायीहरूले बैंकबाट ऋण लिएको, गोदाम तथा पसलमा ठूलो परिमाणमा मालसामान मौज्दात रहेको, भाडा, कर्मचारी तलब, ब्याज तथा अन्य खर्च निरन्तर तिर्नुपर्ने अवस्थाले गर्दा अचानक अन्य जिल्लाभन्दा धेरै दिन अगाडि बिक्री बन्द गरिनु व्यवसायीहरूको लागि गम्भीर आर्थिक संकट निम्त्याउने संघले दावी गरेको छ ।

ज्ञापनपत्रमा पर्सा जिल्लामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया के हो भन्ने विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट जानकारी गराउन माग गरेको छ । साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न सम्बन्धित निकायले गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको माग व्यवसायीहरुले गरेका छन् ।

ज्ञापनपत्रमा अन्यथा यस निर्णयबाट उत्पन्न हुने व्यवसायीहरूको आर्थिक क्षति, समस्या तथा असहज परिस्थितिको जिम्मेवारी सम्बन्धीत निकायले लिनुपर्ने अवस्था आउनेतर्पm पनि  सम्बन्धीत सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

सम्बन्धित पोस्टहरुः