काठमाडौं। बीबीसीले युट्युब च्यानलबाट सम्प्रेषण गरेको डकुमेन्ट्रीका विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ। शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा बीबीसीले युट्युब च्यानलबाट सम्प्रेषण गरेको डकुमेन्ट्रीलाई लिएर ध्यानाकर्षण भएको जनाएको हो।
प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तमा भनिएको छ, जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भएका घटनाहरूका वारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न बनेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले अनुसन्धान गरिरहेको र सोको प्रतिवेदन आइनसकेको अवस्थामा निर्वाचन मितिको सम्मुखमा निर्वाचनलाई प्रभावपार्ने किसिमबाट विदेशी सञ्चार माध्यमबाट डकुमेन्ट्रीको नाममा यस्ता सामग्री सम्प्रेषण हुनु संवेदनशील विषय हो।
बीबीसी विदेशी मुलुकबाट सञ्चालित भएको भन्दै उक्त सञ्चार माध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषयमा काउन्सिलको स्पष्ट क्षेत्राधिकार नहुँदा कुटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्ने काउन्सिलको बैठकले निर्णय गरेको छ।
पत्रकार आचारसंहिता, २०७३ को दफा ११ को अधिनमा रही बनेको पत्रकार आचारसंहिता उजुरी र कारबाही सम्बन्धी कार्यविधि, २०७५ को दफा ५(ठ) मा विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरूद्ध उजुरी परी कारबाही चलेको अवस्थामा नेपाली नागरिक भएको भए त्यहाँस्थित नेपाली दूतावास र विदेशी नागरिक भइसकेको भए कुटनीतिक माध्यमबाट समन्वय गर्नुपर्दछु भन्ने व्यवस्था रहेको छ भने निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ मा सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, पछिल्लो समय कतिपय नेपाली सञ्चार माध्यमबाट बिबिसीले सम्प्रेषण गरेको डकुमेन्ट्रीलाई त्यसको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण भइरहेको देखिएको छ। जसबाट पत्रकार आचारसंहिता, २०७३ दफा ४ (३), ४(६), ५ (२) (२) र निर्वाचन आचारसंहिता, २०८२ का दफा ४(प) र दफा २५ (१) (ट) प्रतिकूल हुनेतर्फ सम्वद्ध सबैको ध्यानाकर्षण गराउँदै त्यस्ता सामग्री सम्पेषण गर्ने सञ्चार माध्यमलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं।
प्रेस काउन्सिल नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रताको सम्मान गर्ने भएपनि निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पु–याउने, मतदातालाई दिग्भ्रमित गर्ने खालका, निष्पक्ष मतदानमा असर पुग्ने गरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चार माध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने प्रकारका सामग्री निर्वाचन सम्पन्न नभएसम्मका लागि पुनः प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्नरनगराउन आग्रह गरेको छ।
बिहीवार बीबीसीले भ्रष्टाचार, सुशासनको अभाव र राजनीतिक अस्थिरताबाट आजित नेपाली युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा राज्यले दमन गरेको विषयमा बीबीसीले एक विस्तृत अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको थियो।








