वीरगंज , १६ फागुन –
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आज (शनिबार) पर्सासहित मधेस प्रदेशका चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। थापाले पर्सा, बारा, सर्लाही र रौतहटमा आयोजना हुने सभामा सहभागिता जनाउनेछन्।
पर्साको वीरगन्जमा दिउँसो २ बजे घण्टाघर छेउको बीपी उद्यान परिसरमा हुने आमसभालाई थापाले सम्बोधन गर्नेछन्।
त्यसअघि पोखरियामा हुने कांग्रेसको सभामा पनि उनी सहभागी हुने कार्यक्रम छ। कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीका अनुसार थापा हेलिकप्टरमार्फत पोखरिया पुगेर त्यसपछि वीरगन्ज आइ रोड शोमा सहभागी हुनेछन्।
थापाले यसअघि शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्की तथा बिहीबार सुर्खेत र बाँकेका चुनावी सभाहरू सम्बोधन गरिसकेका छन्। आइतबार काठमाडौंमा हुने कार्यक्रममा पनि उनको सम्बोधन तय छ।









