किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा

सियोल, १६ फागुन (रासस/एपी) :
उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिनुभएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उहाँकी किशोर छोरीको उपस्थितिलाई विशेष रूपमा देखाइएको छ, जसले उत्तराधिकार सम्बन्धी अड्कलबाजीलाई पुनः बल दिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले शुक्रबार पार्टी र सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षको अवधिमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गर्नुभएको बताइएको छ । सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम यो जोङसहित अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

रिपोर्टले किमकी बहिनी किम यो जोङ हाल पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ । उहाँले पछिल्ला वर्षहरूमा वासिङ्टन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन र सञ्चालनमा उहाँको प्रभाव विस्तार भएको सङ्केत गर्दछ ।

तस्बिरहरूमा किमकी छोरी पनि राइफल समातेको देखिएकी छन् । नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी किम जु ए त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम र कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन् । हाल करिब १३ वर्षकी मानिने उनलाई उत्तराधिकारी बनाउने तयारीबारे दक्षिण कोरियाली अधिकारीहरूले चासोपूर्वक निगरानी गर्दै आएका छन् ।

सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो । बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहो¥याएर जोड दिनुभएको थियो । साथै दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको सङ्केत गर्नुभएको थियो, तर आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह दोहोर्‍याउनुभएको थियो ।

दक्षिण कोरियाको जासुसी निकायले यसै महिना किम जु एलाई उत्तराधिकारीका रूपमा औपचारिक रूपमा अघि सार्ने सम्भावना रहेको अनुमान सार्वजनिक गरेको थियो । यद्यपि उनी महाधिवेशनका औपचारिक बैठकहरूमा सहभागी देखिएकी थिइनन् । पार्टी नियमअनुसार औपचारिक पदका लागि कम्तीमा १८ वर्ष उमेर आवश्यक हुने भएकाले तत्काल त्यस्तो घोषणा नभएको सङ्केत गरिएको छ ।

महाधिवेशनपछिको राज्य मिडिया रिपोर्टमा ‘हाम्रो पार्टीको गौरवशाली उत्तराधिकार र विकास सुनिश्चित गर्ने ठोस आधारशिला’ राखिएको उल्लेख गरिएको छ । विश्लेषकहरूले यसलाई भावी उत्तराधिकारबारे अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन् । 

सम्बन्धित पोस्टहरुः