नारायणी अस्पतालमा दूरबीन प्रविधिबाट पाठेघर शल्यक्रिया सुरु

वीरगंज , १६ फागुन –

नारायणी अस्पताल वीरगंजमा नयाँ प्रविधि प्रयोग गरी पाठेघरको शल्यक्रिया सुरु गरिएको छ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सहिम अन्सारीका अनुसार फागुन १३ गते बारा जिल्लाको देवताल गाउँपालिका निवासी ६० वर्षीया हरिफन खातुनको दूरबीन (ल्याप्रोस्कोपिक) प्रविधिबाट पाठेघर सफलतापूर्वक निकालिएको हो।

यसअघि अस्पतालमा पेट चिरेर शल्यक्रिया गर्ने अभ्यास रहेकामा अब दूरबीनको प्रयोगबाट पेट नचिरेकै अवस्थामा पाठेघर निकाल्न सकिने डा. अन्सारीले जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट समय कम लाग्ने, पेटमा सानो घाउ मात्र हुने, छिटो निको हुने र संक्रमणको जोखिम न्यून रहने फाइदा छ।

दूरबीन प्रविधिबाट शल्यक्रिया गरिएकी खातुन सोही दिन घर फर्किएको अस्पतालले जनाएको छ। अस्पतालमा हाल यो प्रविधिबाट दैनिक दुई जना बिरामीको पाठेघर शल्यक्रिया गर्ने तयारी गरिएको डा. अन्सारीले बताए ।

सम्बन्धित पोस्टहरुः