नेपाली कांग्रेस क्षेत्र नम्बर ३ द्वारा पोखरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले सुरुमा कांग्रेसकै पूर्व सभापति शेरबहादुर देउवा लगायत मन्त्री बनेका सबै नेताहरूको सम्पत्ति जाँचबुझ गरिने स्पष्ट पारे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि कडा कदम चालिने बताए।
थापाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले “फास्ट ट्र्याक” मा काम गर्ने उल्लेख गर्दै एक वर्षमा गरिने काम एक महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा नयाँ–पुरानो कुनै पार्टी नभई सबै बराबर रहेको बताउँदै उनले अघिल्लो निर्वाचनमा २१ सिट जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले दुई वर्षसम्म सरकार गठनमै समय खर्चिएको आरोप लगाए। अहिलेको चुनाव विकास र कामका लागि भएको उनले बताए।
२३ र २४ गते देशमा भएको ऐतिहासिक विध्वंसमा ज्यान गुमाएका जेनेरेसन–जी (Gen Z) युवा पुस्ताको सपना साकार पार्न यो चुनाव महत्वपूर्ण रहेको उल्लेख गर्दै थापाले उनीहरूको सपना पूरा गर्न नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे। अहिलेको निर्वाचनमा कांग्रेस हार्नु भनेको देश हार्नु सरह हुने उनको भनाइ थियो।
क्षेत्रीय सभापति श्री कृष्ण प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, दीप नारायण रौनियार, किरण गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए।








