वीरगंज , १७ फागुन –
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ मा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको छ। संरक्षण नेपालको आयोजनामा तथा महिला, कानून र विकास मञ्चको सहयोगमा मकवानी गाउँमा एकदिने कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत समुदायका करिब ६० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीलाई मतपत्रको बनावट, सही मतदान विधि, मतपत्र पट्याउने तरिका, निर्वाचन आचारसंहिता तथा मतदाताको अधिकारबारे जानकारी दिइएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिए।
बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतपत्रमार्फत व्यवहारिक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ। अभ्यासपछि सहभागी महिलाहरूमा मतदान प्रक्रियाप्रति आत्मविश्वास बढेको बताइएको छ।
वडा नं. २ का वडाध्यक्ष विजय गैरले महिलाहरूको शैक्षिक अवस्था कमजोर भएकाले बदर मतको जोखिम रहेको उल्लेख गर्दै यस्तो कार्यक्रमले मतदानप्रति स्पष्टता र जागरुकता बढाएको बताए।
संरक्षण नेपालका कृष्णप्रसाद यादवका अनुसार अधिकांश सहभागी महिलाहरूले मतपत्र भर्ने र मतपेटिकामा सुरक्षित राख्ने प्रक्रिया सफलतापूर्वक अभ्यास गरेका छन्। स्थानीयस्तरमा यस्ता कार्यक्रमले आगामी निर्वाचनमा महिला सहभागिता बढ्ने अपेक्षा गरिएको छ।








