वीरगंज , २० फागुन –
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुगिसकेको जानकारी दिए।
उनका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ। मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्री सम्बन्धित केन्द्रमा पुर्याइसकिएको तथा मतदान केन्द्रको निर्माण र व्यवस्थापन कार्य सम्पन्न भइसकेको उनले बताए।
भण्डारीले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे। मतदान स्थललाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको उनले उल्लेख गरे।
निर्वाचनलाई केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया मात्र नभई नागरिकले राज्य सञ्चालन र कानून निर्माणमा प्रत्यक्ष सहभागिता जनाउने लोकतान्त्रिक अभ्यासका रूपमा लिन आयोगले आग्रह गरेको छ। आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी भई मताधिकार प्रयोग गर्न अपिल गरेको छ।








