वीरगंज , २० फागुन –
प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) सिराहा–३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जनालाई निर्वाचन अधिकृतको कार्यालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सम्पूर्ण कागजात अध्ययनपछि ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा तोकिएको हो। पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको भए पनि बरामद रकम र गाडी तत्काल सिज गरिएको छ।
प्रहरीले माडर नजिकै संयुक्त चेकजाँचको क्रममा यादवसहितको समूहलाई ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। समूहमा विष्णुपुर–५ का ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारी चालक जितेन्द्रकुमार महतो पनि थिए।
निर्वाचनको मौन अवधिमा आर्थिक लेनदेन गर्ने उम्मेदवार वा राजनीतिक दललाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) अनुसार जरिवाना गर्न सकिने र ६ महिनासम्म जरिवाना नबुझाए ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहराउन सकिने व्यवस्था छ।








