वीरगंज , २१ फागुन –
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर एकै चरणमा मतदान हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको छ।
देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३,१३५ उम्मेदवार छन्।
निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन्। देशभर १०,९६७ मतदानस्थलमा २३,११२ मतदान केन्द्र र १४३ अस्थायी मतदानस्थल तोकिएका छन्।
सुरक्षाका लागि ७९,७२७ नेपाली सेना, ७५,७९७ नेपाल प्रहरी, ३४,५६७ सशस्त्र प्रहरी, १,९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र १,४९,०९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ। चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गरिरहेका छन्।








