वीरगंज , २३ फागुन –
गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह विजयी भएका छन्।
शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
झापा–५ लामो समयदेखि एमाले अध्यक्ष ओलीको प्रभाव क्षेत्र मानिँदै आएको थियो। तर पछिल्ला राजनीतिक घटनाक्रम, नेतृत्वप्रति बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रति मतदाताको झुकावका कारण यसपटकको निर्वाचनमा नतिजा उल्टिएको विश्लेषण गरिएको छ।
विशेषगरी भदौ २३/२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन, त्यसक्रममा विद्यार्थीहरूको ज्यान गएको घटनालगायत विषयले पनि राजनीतिक बहसलाई तीव्र बनाएको थियो। ती घटनापछि ओलीको नेतृत्व र भूमिकाबारे आलोचना बढेको थियो, जसको प्रभाव निर्वाचन परिणाममा समेत देखिएको विश्लेषकहरूको भनाइ छ।









