वीरगंज , २४ फागुन –
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्। पर्सा–१ मा बुद्धि प्रसाद पन्त (हरि पन्त), पर्सा–२ मा सुशील कुमार कानु, पर्सा–३ मा रामाकान्त प्रसाद चौरसिया र पर्सा–४ मा टेकबहादुर शाक्य विजयी भएका हुन्।
पर्सा–१ मा रास्वपाका उम्मेदवार हरि पन्तले २७ हजार २७४ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १२ हजार ३० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
पर्सा–२ मा रास्वपाका सुशील कुमार कानुले ३० हजार ७४० मतका साथ् विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव ११ हजार ६ सय ५ मतसहित तेस्रो स्थानमा रहेकी छन्।
यसैगरी पर्सा–३ मा रास्वपाकै रामाकान्त प्रसाद चौरसिया २९ हजार ६७९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डे ११ हजार ९१४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।
उता पर्सा–४ मा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य २८ हजार ६ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मंसुरी १२ हजार १४५ मतसहित तेस्रो स्थानमा रहेका छन्।








