वीरगंज, २४ फागुन –
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै जीत हासिल गरेका हुन्।
सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८ सय ३१ मत मात्रै प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादव ९ हजार ३ सय ४३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
सिंहले आफ्नो राजनीतिक यात्रा मधेशी जनअधिकार फोरमबाट सुरु गरेका थिए। पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका उनले २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट जीत हासिल गरेका थिए। २०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर पनि उनी विजयी भएका थिए। यसपटक भने उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।
उता गगनकुमार थापा भने यसअघि काठमाडौँ क्षेत्र नम्बर ४ बाट लगातार चुनाव जित्दै आएका थिए। उनी २०६४ सालको संविधानसभामा समानुपातिकबाट सदस्य बनेका थिए भने दोस्रो संविधानसभामा काठमाडौँ–४ बाट विजयी भएका थिए। २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थापा २०७० सालमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।
१ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








