वीरगंज २६ फागुन —
रौतहट–४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि पत्रकार ऋषि धमलाले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रियामा बोल्दै धमलाले आफूले उक्त पार्टी र चुनाव चिह्न चुनावका लागि मात्रै प्रयोग गरेको बताएका छन्। उनले आम जनता पार्टी र जनादेश पार्टीको आग्रहमा मोबाइल छापबाट चुनाव लडे पनि आफू त्यस पार्टीको सदस्य नरहेको स्पष्ट पारे।
धमलाले चुनावअघि बालेन शाहले आफूलाई दुई पटक बोलाएर जुनसुकै क्षेत्रबाट लडे पनि टिकट दिने प्रस्ताव गरेको दाबी गरे। तर अन्ततः आफू मोबाइल छाप लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको उनले बताए।
रौतहट–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल ३६ हजार ८७६ मतसहित निर्वाचित भएका छन्। धमलाले भने ६५५ मत मात्र प्राप्त गरेका थिए। उनले रौतहटका मतदाताप्रति धन्यवाद व्यक्त गरे पनि अब राजनीतिमा रहने वा पत्रकारितामा फर्कनेबारे भने केही खुलाएका छैनन्।








