जय ट्रफीको फाइनल चैत ३ देखि, प्रधानमन्त्री कप चैत ७ बाट सुरु हुने

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल चैत ३ गतेदेखि सञ्चालन हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै फाल्गुन ८ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको दुईदिवसीय जय ट्रफीको फाइनल खेल चैत ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा काठमाडौंस्थित मुलपानी क्रिकेट ग्राउन्डमा हुने जनाएको हो।

समूह चरणबाट नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका छन्।

यस्तै, यस वर्ष सञ्चालन हुन लागेको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि सुरु हुने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता चैत ७ गतेदेखि २०८३ वैशाख ४ गतेसम्म पर्सा र जनकपुरमा आयोजना हुनेछ।

प्रतियोगिताका केही खेलहरू भने काठमाडौंस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा पनि सञ्चालन गरिने क्यानले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः