धनुषा-१ मा मातृका यादव विजयी घोषणा

जनकपुरधाम । लामो समयदेखि अन्योलमा परेको धनुषा निर्वाचन क्षेत्र नं। १ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम अन्ततः घोषणा गरिएको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट आएको पत्रपछि नेकपा उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषणा गरिएको हो।

धनुषा क्षेत्र नं.१ का निर्वाचन अधिकृत मनोजकुमार बरालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यसअघि विजय घोषणा रोकिएको थियो।

आयोगको केन्द्रीय कार्यालयबाट रोक्का रहेको विजय घोषणा गर्न निर्देशनसहितको पत्र प्राप्त भएपछि आफूहरूले नेकपा उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषणा गरेको उनले जानकारी दिए।

गत फागुन १९ गते निर्माण कम्पनीसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा उम्मेदवार साह कालोसूचिमा रहेको उजुरी परेपछि रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध साह अदालत पुगेका थिए। सोही विषयमा अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको छ।

उम्मेदवारी विवाद सर्वोच्च अदालतमा पुगेपछि धनुषा–१ को मतपरिणाम घोषणा केही समयदेखि रोकिएको थियो। विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न भए पनि औपचारिक रूपमा विजयी घोषणा गर्न सकेको थिएन। निर्वाचन आयोगबाट स्पष्ट निर्देशन आएपछि मात्र परिणाम सार्वजनिक गरिएको हो।

निर्वाचन अधिकृत बरालका अनुसार रास्वपाका उम्मेदवार साहका मतपत्र भने गोप्य राखिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले ती मतपत्रलाई अलग राखिएको उनले बताए।

मतपरिणामअनुसार नेकपा उम्मेदवार मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४८५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवारले ९ हजार २२० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

लामो समयसम्म मतपरिणाम घोषणा नहुँदा धनुषा–१ मा राजनीतिक तथा कानुनी बहस चर्किएको थियो। निर्वाचन आयोगको पत्रपछि भने उक्त क्षेत्रको मतपरिणाम औपचारिक रूपमा टुंगिएको छ।

सम्बन्धित पोस्टहरुः