वीरगंज , २६ फागुन —
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पर्सा जिल्लामा कमजोर नतिजा आएको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पूर्वमुख्यमन्त्री मो. लालबाबु राउत गद्दी बस्ने वडामै अत्यन्त न्यून मत प्राप्त भएको छ।
वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल मुर्लीस्थित मतदान केन्द्रमा जसपा नेपालको चुनाव चिह्न ‘छाता’ले जम्मा ३९ मत मात्र पाएको छ। पर्साका चारै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएको पार्टीका लागि यो परिणाम अप्रत्याशित मानिएको छ।
गद्दीसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवको पनि जमानत जफत भएको छ। यसले दुवै नेताको जनाधारबारे पार्टीभित्रै चर्चा सुरु भएको बताइएको छ।
यादव बस्ने वीरगञ्ज महानगरपालिका–२८ मा पनि जसपा नेपालको ‘छाता’ चुनाव चिन्हले २५ मत मात्रै पाएको जनाइएको छ।
पार्टीभित्रका केही नेताहरूले मधेश प्रदेशका पूर्वमुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचार आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा पार्टी संगठन कमजोर बनेको टिप्पणी गरेका छन्। एक समय पर्सामा बलियो संगठन रहेको जसपा नेपाल अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ।
राजनीतिक वृत्तमा भने देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कमजोर हुँदै गएको चर्चा भइरहेको छ।
निर्वाचन परिणामले गद्दी र यादवको वास्तविक जनाधार कस्तो रहेको छ भन्ने विषय थप स्पष्ट भएको भन्दै पर्साको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यद्यपि उम्मेदवार यादवले भने हार–जितलाई स्वाभाविक भन्दै समर्थक तथा कार्यकर्तालाई ढाडस दिँदै आएका छन्।









