प्रतिनिधिसभा निर्वाचनमा १० पूर्व स्वास्थ्य मन्त्री पराजित

वीरगंज , २७ फागुन –

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न दलका १० जना पूर्व स्वास्थ्य मन्त्री पराजित भएका छन्। निर्वाचन परिणामअनुसार निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलसहित भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ र उपेन्द्र यादव चुनाव हारेका छन।

काठमाडौं–५ मा नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मीत पोखरेलले ३० हजार ७३७ मतसहित पराजित गरे। पौडेलले ९ हजार १५९ मत प्राप्त गरे।

तेह्रथुम–१ मा नेकपा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नेपाली कांग्रेसका सन्तोष सुब्बाले ११ हजार ५६१ मतसहित पराजित गरे। ढकालले १० हजार ६८२ मत प्राप्त गरे।

महोत्तरी–१ मा नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतोले ३४ हजार ६३६ मतसहित पराजित गरे। पोखरेलले १२ हजार ६२४ मत ल्याए।

सर्लाही–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग पराजित भए । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत प्राप्त गरे।

पर्वत–१ मा एमालेका पदम गिरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले २६ हजार ५६१ मतसहित पराजित गरे। गिरीले १५ हजार ७५ मत ल्याए।

पर्सा–१ मा एमालेका प्रदीप यादव राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तसँग पराजित भए । पन्तले २७ हजार २७४ मत ल्याउँदा यादवले १३ हजार ३० मत प्राप्त गरे।

सिन्धुपाल्चोक–२ मा एमालेका शेरबहादुर तामाङ नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालसँग पराजित भए । दुलालले २९ हजार ६९९ मत ल्याउँदा तामाङले १५ हजार ९२६ मत प्राप्त गरे।

सप्तरी–३ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीसँग पराजित भए । चौधरीले ३२ हजार ८७५ मत ल्याउँदा यादव १५ हजार २३९ मतमा सीमित भए ।

सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतो राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतोसँग पराजित भए। रविन महतोले ४२ हजार ५१२ मत ल्याउँदा महतोले ५ हजार ९९२ मत प्राप्त गरे।

नवलपरासी पश्चिम–१ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग पराजित भए। खनालले ४५ हजार २४१ मत ल्याउँदा त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरे।

यस निर्वाचन परिणामले पुराना दलका प्रभावशाली नेताहरू समेत मतदाताबाट अस्वीकृत भएको संकेत दिएको विश्लेषण गरिएको छ।

सम्बन्धित पोस्टहरुः