वीरगंज , २७ फागुन –
वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो।
महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब दुई करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण भइरहेको छ। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
निर्माणाधीन प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगञ्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६० देखि ६५ टनसम्म फोहोर संकलन हुँदै आएको छ। संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोर छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ।
गत असोज महिनामा वीरगञ्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि परियोजनाको निर्माण कार्य अघि बढाइएको हो।
प्लान्ट निर्माणको प्रगति बुझ्न महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोलीले बुधबार निर्माण स्थलको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा महानगर प्रमुख सिंहले वीरगञ्जलाई फोहोरमुक्त र हरित शहर बनाउने लक्ष्यअनुसार यो परियोजना अघि बढाइएको बताए।
निर्माण सम्पन्न भएपछि प्लान्ट वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। त्यसपछि महानगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्नेछ भने प्राविधिक जनशक्ति व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने बताइएको छ।
महानगरपालिकाका अनुसार प्लान्ट सञ्चालनमा आएपछि शहरभरिबाट संकलित फोहोरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ। यसले फोहोर व्यवस्थापन प्रणालीमा सुधार ल्याउनुका साथै वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।








