वीरगंज , २९ फागुन –
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा एलपी ग्यासको अभाव नरहेको दाबी गरे पनि वीरगंजसहित विभिन्न स्थानमा उपभोक्ताहरू ग्यास पाउनका लागि खुद्रा पसलअगाडि लाइन बस्न बाध्य भएका छन्।
खाना पकाउने ग्यास पाउन बिहानैदेखि उपभोक्ताहरू ग्यास व्यवसायीको पसलअगाडि लाइन बस्ने गरेका छन् । तर लाइन बसे पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने निश्चित नहुने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ।
खुद्रा ग्यास बिक्रेताहरूले भने आफ्नो पसलमा ग्यास सकिएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन्। उनीहरूका अनुसार ग्यास कम्पनीबाट पर्याप्त सिलिण्डर उपलब्ध नभएकाले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन कठिन भइरहेको छ।
यता ग्यास उद्योग तथा सरकारी निकायहरूले भने देशमा ग्यासको अभाव नरहेको र आपूर्ति नियमित भइरहेको दाबी गर्दै आएका छन्। तर बजारमा देखिएको वास्तविक अवस्थाले भने उपभोक्तालाई ग्यास अभावको समस्या भोग्नुपरेको देखिएको छ।








