रास्वपा उम्मेदवार साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

वीरगंज , २८ फागुन –

सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश जारी गरेको छ।

साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको हो। कर्जा सूचना केन्द्रले साहलाई कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

उम्मेदवारी खारेजीको निर्णयविरुद्ध साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको अन्तरिम आदेशसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले बताएका छन्।

निर्वाचनको दुई दिनअघि मात्रै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर रिटमाथि थप सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा अत्यधिक मत परेको थियो। यद्यपि सो क्षेत्रमा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ।

सम्बन्धित पोस्टहरुः