नेपालीलाई विदेशमा लगानी गर्न सक्ने वातावरण बनाउँदैछौं : गभर्नर पौडेल

राधेश्याम पटेल
परवानीपुर, २८ फागुन

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाली नागरिकले विदेशमा कमाएको आम्दानीबाट विदेशमै लगानी गर्न सक्ने वातावरण बनाउन राष्ट्र बैंकले तयारी गरिरहेको बताएका छन्।

वीरगंज उद्योग वाणिज्य संघको ५०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले वैदेशिक रोजगारीमा गएका नेपालीले आफ्नो आम्दानी सुरक्षित रूपमा लगानी गर्न पाउने नीति निर्माणतर्फ राष्ट्र बैंकले काम गरिरहेको जानकारी दिए।

वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा बोल्दै उनले छिमेकी देशहरूले पनि वैदेशिक रोजगारीमा गएका नागरिकलाई लगानी गर्ने नीति ल्याइसकेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै वातावरण तयार गरिने बताए।

“हाम्रा छिमेकी राष्ट्रहरूले वैदेशिक रोजगारीमा गएका नागरिकलाई लगानीको अवसर दिने नीति अघि सारेका छन्। नेपालमा पनि त्यस्तो नीति र वातावरण निर्माण गर्न राष्ट्र बैंक लागिपरेको छ, छिट्टै सकारात्मक परिणाम देखिनेछ,” उनले भने।

उनले चालू पूँजी कर्जासम्बन्धी व्यवस्थामा पनि निजी क्षेत्रको सुझावअनुसार राष्ट्र बैंक अघि बढिरहेको बताए। उद्योगी–व्यवसायी तथा निजी क्षेत्रको विकास बिना देशको आर्थिक विकास सम्भव नरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रका समस्या समाधानका लागि राष्ट्र बैंक सदैव तयार रहेको बताए।

“शतप्रतिशत अपेक्षा अनुसार सुधार गर्न नसकिए पनि राष्ट्रहित र जायज मागलाई ध्यानमा राखेर आवश्यक नीति–नियम संशोधन गर्दै अर्थतन्त्र सुधारतर्फ अघि बढ्नेछौं,” उनले भने।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गौतम स्कुलकी संस्थापक उर्मिला लामालाई सम्मान गरिएको थियो। त्यस्तै सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै रिलिफ सोसाइटी अफ कमर्श वीरगंज, महिला उद्यमी ज्योति श्रेष्ठ र नेहा अग्रवाल तथा पत्रकार आंशु सर्राफलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सभामा महासचिव शिवजी गुप्ताले कार्यसमितिले गत एक वर्षमा गरेका गतिविधिको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अनोज रुगंटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड २४ लाख रुपैयाँ बचत गरेको जनाएको छ।

संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पूर्वअध्यक्षहरू अनिलकुमार अग्रवाल, सुबोध गुप्ता, प्रदीप केडिया, अशोक वैद्य, ओमप्रकाश सिकारिया तथा विजयकुमार सरावगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गरेका थिए।

सम्बन्धित पोस्टहरुः