वीरगंज , २९ फागुन –
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट पाएका छन्।
समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ। प्रचलित कानुनअनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका दलहरूलाई मात्र सिट बाँडफाँट गरिएको हो।
आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिकतर्फका सांसदहरूको नामावली पेश गर्न पत्राचार गरेको छ।
सिट बाँडफाँटपछि प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद रहने छन्। प्रतिनिधिसभामा एक जना स्वतन्त्र सांसद पनि रहने आयोगले जनाएको छ।









