हर्मुज संकटले कच्चा तेल फेरि १०० डलर माथि

एजेन्सी , २९ फागुन

हर्मुज जलसन्धिमा इरानको नाकाबन्दी कायम रहँदा विश्व बजारमा कच्चा तेलको मूल्य फेरि १०० अमेरिकी डलर नाघेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य आज १०० डलरभन्दा माथि पुगेको हो। यसअघि सोमबार मूल्य बढेर अधिकतम १२० डलरसम्म पुगेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुने संकेत दिएपछि मंगलबार मूल्य केही घटे पनि हिजोदेखि फेरि बढ्न थालेको हो। इरानले हर्मुज जलसन्धिमा नियन्त्रण कायम राख्दै त्यहाँबाट कुनै पनि जहाज बाहिर निस्कन नदिएको जनाएको छ।

यस क्षेत्रमा यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित ६ वटा जहाज आक्रमणमा परिसकेका छन्। इरानले हर्मुजबाट एक लिटर तेल पनि बाहिर निस्कन नदिने दाबी गर्दै ठूलो सङ्ख्यामा ड्रोन र युद्ध डुङ्गा परिचालन गरेको छ।

विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही मार्गबाट आपूर्ति हुने भएकाले हर्मुज संकटले ऊर्जा बजारमा ठूलो असर पारेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सदस्य राष्ट्रको रणनीतिक भण्डारबाट ४ सय मिलियन ब्यारेल तेल बजारमा पठाउने निर्णय गरे पनि मूल्यमा खासै प्रभाव परेको छैन।

विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमा इरानको नियन्त्रण कायम रहिरहेसम्म संकट चाँडै समाधान हुने सम्भावना कम छ। युद्ध लम्बिएमा तेलको मूल्य अझ बढ्ने र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन्।

सम्बन्धित पोस्टहरुः