वीरगंज , २९ फागुन –
दक्षिण कोरियाको के–पप समूह बीटीएसले आगामी साता सिओलमा आयोजना गर्न लागेको ‘कमब्याक’ कन्सर्टमा करिब ३ लाख मानिस सहभागी हुने अनुमान गरिएको छ। दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो।
सन् २००२ मा आयोजित ‘फिफा विश्वकप’पछि उक्त क्षेत्रमा हुन लागेको यो सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक हुने बताइएको छ। बीटीएसले तीन वर्षभन्दा बढी समयपछि नयाँ एल्बम सार्वजनिक गर्न लागेकाले मार्च २१ मा निःशुल्क कन्सर्ट आयोजना गर्न लागेको हो।
राजधानी सिओलको ग्वाङह्वामुन स्क्वायरदेखि सिटी हलसम्म फैलिने यो एक घण्टे कार्यक्रम विश्वभर प्रत्यक्ष प्रसारण गरिनेछ। नेटफ्लिक्समार्फत १९० देशमा प्रत्यक्ष प्रसारण हुने भएकाले कार्यक्रमले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कन्सर्टस्थलभित्र करिब २२ हजार दर्शकले प्रत्यक्ष रूपमा कार्यक्रम हेर्नेछन् भने टिकट नभएका मानिसलाई पनि आसपासका क्षेत्रमा बसेर कार्यक्रम अवलोकन गर्न अनुमति दिइने बताइएको छ।
भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै करिब ४ हजार ८ सय प्रहरी तथा विभिन्न निकायका ३ हजार ४ सय कर्मचारी परिचालन गरिने तयारी गरिएको छ। दक्षिण कोरियामा सन् २०२२ को हेलोविन भीडदौडमा १५९ जनाको मृत्यु भएपछि ठूलो भीडभाड हुने कार्यक्रमप्रति सुरक्षा सतर्कता बढाइएको छ।








