मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । पितालाई श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको थियो ।
अस्पताल प्राङ्गणमा नेकपा (एमाले) का सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिनुभएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनका अनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छ महिनादेखि उहाँको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।
दिवङ्गत मोहनप्रसादको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको एमाले सचिव बस्नेतले जानकारी दिनुभयो । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी हुनुहुन्छ ।








