वीरगंजस्थित वडा प्रहरी कार्यालय बिर्ताले एक युवकलाई दुई दिनदेखि गैरन्यायिक रूपमा हिरासतमा राखेको परिवारजनले आरोप लगाएका छन्।
सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ घर भई हाल वीरगंज महानगरपालिका–१६ नगवामा बसोबास गर्दै आएका तथा ब्यारेक नजिकको विशाल सुपरमार्केटमा कपडाको व्यवसाय गर्दै आएका विक्रम कापरलाई प्रहरीले हिजो दिउँसोदेखि हिरासतमा राखेको परिवारले जनाएको छ।
कापरले आफ्ना भाइ कुन्दन कापरलाई भगाउन सहयोग गरेको आरोप प्रहरीले लगाएको बताइएको छ।
तर परिवारका अनुसार प्रहरीले कापरका भाइमाथि के आरोप लागेको हो र कहिले भगाउन सहयोग गरेको भन्नेबारे स्पष्ट जानकारी दिएको छैन।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले कापरका भाइले कसूर गरेको र उनलाई भगाउन सहयोग गरेको आशंकामा सोधपुछका लागि हिरासतमा राखिएको जानकारी दिएका छन्।








