बारा , १ चैत्र –
बाराको मानवत–मटिअर्वा–पिलुवा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१० मटिअर्वामा रहेको एक पसलमा फेरि चोरी भएको छ।
रामपुकार गुप्ता (सागर) ले सञ्चालन गर्दै आएको किताब, कपी तथा मनि ट्रान्सफर पसलमा हिजो मध्यराति सटरको ताल्चा काटेर चोरी गरिएको हो। पसल सञ्चालक गुप्ताका अनुसार चोरीमा करिब डेढ लाख रुपैयाँ नगद लगिएको छ।
स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। यही स्थानमा करिब डेढ वर्षअघि एक सुनचाँदी पसलमा पनि चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी भएको घटना पनि भएको थियो। चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वा रहेको छ भने करिब ५०० मिटरको दूरीमा प्रहरी चौकीसमेत रहेको स्थानीयले बताएका छन्।
यता जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।









