वीरगंज महानगरपालिकामा घरेलु हिंसाका घटना सबैभन्दा बढी

वीरगंज , ३ फागुन –

पर्सा जिल्लामा घरेलु हिंसाका घटनामध्ये सबैभन्दा बढी घटना वीरगंज महानगरपालिकामा भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरणअनुसार जिल्लाभर ४८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन्।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार जिल्लाका १४ पालिकामध्ये ९ पालिकामा मात्र घरेलु हिंसाका घटना दर्ता भएका छन्। तीमध्ये वीरगंज महानगरपालिकामा मात्र ३९ वटा घटना भएको तथ्यांकमा उल्लेख छ।

प्रहरीका अनुसार विन्दवासिनी गाउँपालिकामा दुई वटा घटना भएका छन् भने अन्य केही पालिकामा एक–एक वटा मात्रै उजुरी परेको छ। यद्यपि पोखरिया नगरपालिकासहित ठोरी गाउँपालिका, धोबनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा भने फागुन महिनामा कुनै पनि घरेलु हिंसाका घटना दर्ता भएका छैनन्।

प्रहरीका अनुसार ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा घरेलु हिंसाका घटना उल्लेख्य रूपमा बढी देखिएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै प्रहरी उपरीक्षक पाठकले पछिल्लो समय प्रहरीप्रति विश्वास बढेकाले यस्ता घटनाको उजुरी गर्ने क्रम बढेको बताए। उनका अनुसार पहिले पनि यस्ता घटना हुने गरे पनि उजुरी कम पर्ने भएकाले तथ्यांकमा संख्या कम देखिन्थ्यो।

घरेलु हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै पीडकलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्ने रणनीति अपनाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः