काठमाडौं । अभिमुखीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवसांसदहरू कार्यक्रमस्थल पुगेका छन्।
मंगलबारदेखि दुई दिन ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रम सुरू हुँदैछ। त्यस कार्यक्रममा सहभागी हुन नवसांसदहरू कार्यक्रम स्थलमा पुगेका हुन्।
कार्यक्रमको उद्घाटन उपसभापति समेत रहेका पार्टी संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी)ले गर्नेछन्।
अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार बिहान ११ बजेबाट सुरू हुने अभिमुखीकरणको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गर्नेछन्।
उनीहरूले विषय प्रवेशका अतिरिक्त अभिमुखीकरणको तात्पर्यबारे नवसांसदहरूलाई जानकारी गराउनेछन्।
सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ। उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन्।
‘यसका अतिरिक्त आजैको सत्रमा नव निर्वाचित सांसदहरूलाई समूहमा विभाजन गर्ने, उनीहरूबीच आपसमा परिचय-चिनजान गराउने, अन्तरघुलित गर्ने, समूहमा कार्य गर्न सक्ने सीपको विकास गराउने लक्ष्य पनि रहेको छ,’ महामन्त्री बुर्लाकोटीले सेतोपाटीसँग भने।
मंगलबारको सत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षित तुल्याउनेछन्। वाग्ले वाचापत्र लेखन समितिका संयोजक पनि थिए। उनले वाचापत्रप्रति सांसदहरू कसरी जिम्मेवार-इमान्दार रहने, त्यसप्रति आफ्नो भूमिका के हुने भन्ने विषयमा जानकारी गराउने बुर्लाकोटीले बताए।
यस्तै, आजको सत्रमा कानुन सचिवसमेतको जिम्मेवारी सम्मालिसकेका तोयानाथ अधिकारी कानुन निर्माण संघीय संसदको भूमिकाबारे सुसूचित गर्नेछन्। उनले पनि आफ्नो अनुभवका आधारमा सांसदहरूलाई नोट सेयर गर्ने बुर्लाकोटीले बताए।
अभिमुखीकरणमा रास्वपाले अध्येता तथा विश्लेषक दोभान राईलाई पनि आमन्त्रित गरेको छ। राईले संसद र नागरिकको बीचको सम्बन्धबारे बताउनेछिन्। डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारसीपको प्रयोग कसरी गर्ने भन्नेबारे प्रशिक्षित तुल्याउने उनको कार्यसूची छ।
आजैको सत्रमा चितवन-३ बाट निर्वाचित सोविता गौतमलगायत केही सांसदहरूले आफ्नो अनुभव साझा गर्नेछन्। गौतम यसअघिको संसदमा पनि सांसद थिइन्।
दोस्रो दिनको सत्र योग–ध्यानबाट आरम्भ हुनेछ। भोलिको सत्रको सुरूआतमा एलपी भानु शर्माले योगाभ्यास, ध्यान गराउनेछन्। त्यसपछि योजना तर्जुमा, बजेट निर्माण, विन्यासबारे तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसचिवसमेत हुन्।
यस्तै, पार्टी र संसदको सम्बन्धबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई प्रशिक्षित गर्नेछन्।
त्यसपछि संसको कार्यसूची, प्राथमिकताको निर्धारणमाथि रहेर सामूहिक छलफल गराइनेछ।
सत्रको अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण समापन हुने बुर्लाकोटीले बताए। भोलि दिउँसो १ बजेतिर प्रशिक्षण टुंग्याउने कार्यसूची रहेको पनि उनले बताए।
फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ १२५ र समानुपातिक गरी ५७ सिटमा विजय हासिल गरेको थियो। दुई दिवसीय अभिमुखीकरणमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसद सहभागी हुनेछन्।
तस्बिरहरू









