सप्तरीमा फागुन महिनामा ११ जनाको मृत्यु, ५३ जना घाइते

सप्तरी, २ चैत –

जिल्लामा फागुन महिनामा विभिन्न घटनामा ११ जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनमार्फत फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार फागुनमा जिल्लामा १७ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र २१ जना घाइते भएका छन्। त्यसैगरी, २० वटा सवारीसाधनसम्बन्धी अन्य दुर्घटनामा पनि दुर्घटनामा परेका छन्। अधिकांश दुर्घटना ट्राफिक लेनको अनुशासनको कमी, सवारी साधनको ओभरस्पीड तथा पूर्व–पश्चिम राजमार्ग विस्तार कार्यसँग सम्बन्धित रहेको प्रहरीले विश्लेषण गरेको छ।

सो महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २७० सवारी साधनलाई कारवाही गरी दुई लाख ५६ हजार रुपैयाँ जरिवाना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

फागुनमा अन्य घटनामा करेन्ट लागेर एक, पानीमा डुबेर तीन र अन्य कारणबाट तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर चार जना, जनावरको आक्रमणबाट दुई र अन्य घटनामा २६ जना घाइते भएका छन्।

त्यस्तै, एक महिनामा सप्तरीमा सात जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार तीमध्ये दुई पुरुषले विष सेवन गरी, एक पुरुष र चार महिला झुन्डिएर आत्महत्या गरेका हुन्।

सम्बन्धित पोस्टहरुः