जेनजी सहिदकी आमा रचना खतिवडा बनिन् सांसद

वीरगंज , ४ फागुन –

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सदस्य बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिकतर्फ खसआर्य समूहबाट सांसद बनाएको हो।

भदौ २३ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना न्यायका लागि सडक आन्दोलनमा सक्रिय भएकी थिइन्। उनले अब सहिद परिवारको प्रतिनिधित्व गर्दै संसद्‍मा आवाज उठाउने बताएकी छन्।

उनले आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने जिम्मेवार निकायका व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने माग दोहोर्‍याउँदै सोही विषय संसद्‍मा उठाउने प्रतिबद्धता जनाएकी छन्।

हालसम्म गृहिणी जीवन बिताएकी रचनाको यो पहिलो राजनीतिक यात्रा हो। उनले परिस्थितिले राजनीतिमा ल्याए पनि अब आफूले भोगेको पीडा र सहिद परिवारको माग सशक्त रूपमा राख्ने बताएकी छन्।

रचनाका अनुसार छोराको निधनपछि जीवनको दिशा नै परिवर्तन भएको हो। अहिले उनी जेनजी सहिद परिवार संघर्ष समितिमा आबद्ध भई न्यायका लागि निरन्तर आवाज उठाउँदै आएकी छन्।

उनले आगामी दिनमा सहिद परिवारको न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई संसद्‍मार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सम्बन्धित पोस्टहरुः