वीरगंज, ६ फागुन –
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा एक मतदाता प्रति २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनाव खर्चलाई मितव्ययी बनाउने उद्देश्यले यसअघि खरिद भएका सामग्री प्रयोग गरिएको जानकारी दिए ।
चुनाव सामग्री खरिदमा सरकारले स्वामित्वमा राखेका सङ्गठित संस्थासँग सम्झौता गरी खरीद गरिएको थियो। ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद भएको र बाँकी १३ प्रकार आयोगबाट खरिद गरी जिल्लागत रूपमा ढुवानी गरिएको थियो।
निर्वाचन प्रयोजनका लागि आयोगले ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो। अहिलेसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र केही रकम भुक्तानी बाँकी रहेको आयोगले जनाएको छ।
चुनावको पर्यवेक्षणका लागि २२ वटा कूटनीतिक निकायका १६४ प्रतिनिधि र तीन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सहभागी थिए भने राष्ट्रिय स्तरमा ३५ गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।
निर्वाचन आयोगले मतदाता, सरकार, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक र सञ्चारकर्मी सबैप्रति धन्यवाद प्रकट गर्दै लोकतान्त्रिक अभ्यासमा सहभागिताका लागि आभार व्यक्त गरेको छ।








