वीरगंज, ७ फागुन –
अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाभर रोजा बसेका मुस्लिम समुदायले आज देशभर इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाएका छन्।
आज बिहान विशेष नमाज अदा गरेपछि मुस्लिम धर्मावलम्बीले आफन्त तथा ठूलाबडाकहाँ पुगेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा निभाएका छन्। घरघरमा सेवई, खजुर लगायतका परिकार तयार गरी पाहुनालाई सत्कार गर्ने चलन रहेको छ।
इद उल फित्र दान र सहकार्यको पर्वका रूपमा पनि परिचित छ। मुस्लिम धर्मग्रन्थ कुरानअनुसार एक वर्षको बचतको साढे दुई प्रतिशत रकम वा जिन्सी दान गर्ने प्रावधान रहेको छ, जसलाई ‘जकात’ भनिन्छ। यसैगरी, प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार गहुँ वा बराबरको रकम दान गर्ने ‘सदकातुल फित्र’ (फित्र) पनि दिइने गरिन्छ।
एक महिनासम्मको रोजापछि मनाइने यस पर्वमा नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, दीनदुःखीलाई सहयोग गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने विशेष महत्व रहेको छ।









