वीरगंज, ७ फागुन –
मध्यपूर्वमा जारी युद्धका क्रममा सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरेको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा १०९ जना पक्राउ परेका छन्। अबुधाबी प्रहरीले आक्रमणसँग सम्बन्धित भिडियो खिचेर गलत सूचना फैलाएको आरोपमा विभिन्न देशका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चर्किएसँगै खाडी मुलुकहरूले सूचना प्रवाहमा कडाइ गरेका छन्। यसअघि नै यूएईले आक्रमणसँग सम्बन्धित फुटेज वा सामग्री सार्वजनिक नगर्न चेतावनी दिएको थियो।
समाचार संस्था एएफपीका अनुसार पक्राउ परेकाहरूले आक्रमणस्थलका दृश्यहरू खिचेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने खालका सामग्री पोस्ट गरेका थिए। यस्ता गतिविधिले अस्थिरता र त्रास फैलाउने भन्दै अधिकारीहरूले कडा निगरानी र कारबाही अघि बढाएका हुन्।
यस्तै, कतार, बहराइन र कुवेतले पनि युद्धसम्बन्धी भ्रामक सूचना प्रसारण गर्ने व्यक्तिविरुद्ध कारबाही सुरु गरेका छन्। युद्धको प्रभाव खाडी क्षेत्रभर फैलिँदै जाँदा सुरक्षा निकायहरूले डिजिटल सामग्रीसमेत नियन्त्रणमा लिन थालेका छन्।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विकल्पबारे विचार भइरहेको संकेत दिएका छन्। तर उनले होर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न अन्य देशहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। हाल अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेको छ।








