वीरगंज, ७ फागुन –
धनुषाको रेडियो धनुषा ९९.७ मेगाहर्जले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा पत्रकार माधुरी महतोलाई उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा नगदसहित सम्मानपत्र प्रदान गर्दै उनलाई मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारको रूपमा कदर गरिएको हो।
धनुषाधाम नगरपालिका–३ मा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादव प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथि मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा ग्रेटर मधेस मिडिया प्रालि एवं रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।
रेडियो धनुषाका अध्यक्ष ठाकुरका अनुसार आवाजविहीनहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन पत्रकारितामार्फत खेलेको भूमिकाको कदर गर्दै महतोलाई सम्मान गरिएको हो। महतो विगत १८ वर्षदेखि वीरगंज र मधेस प्रदेशलाई कर्मक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएकी छन्। उनले रेडियो पत्रकारितामा पनि करिब डेढ दशकको अनुभव संकलन गरिसकेकी छन् र हाल मधेस खबर अनलाइनकी सम्पादक तथा बीबीसी नेपाली सेवामा कार्यरत छिन्।
यसअघि पनि महतो विभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन्। कार्यक्रममा धनुषाका विजय साह, सिरहाका मनिलाल बिक र रेडियो मिथिलाका मनिष मैथिललाई पनि सम्मान गरिएको थियो।








