वीरगंज, ८ चैत। हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित (त्रैमासिक) परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरूले आइतवार प्रदर्शन गरेका छन्।
कलेज प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले परीक्षा नियमित तथा निर्धारित समय तालिकामा सञ्चालन गर्नुपर्ने, दैनिक कक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै कलेजको मुख्यद्वार अगाडि केही समय धर्ना दिए। उनीहरूले कलेज प्रशासन, क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरूद्ध नाराबाजी गरेका थिए।
विद्यार्थीहरूका अनुसार कलेजभित्र शिक्षा विभाग, कर्मचारी, प्रशासन र सञ्चालक समितिबिचको आन्तरिक द्वन्द्व तथा विवादका कारण विद्यार्थीहरूको पठनपाठन, कक्षा सञ्चालन, परीक्षा तथा अन्य शैक्षिक क्रियाकलापहरू पटक–पटक प्रभावित हुँदै आएका छन्। प्रशासनिक विवादले आफूहरूको भविष्यमा असर नपारोस् भन्ने उनीहरूको मुख्य माग छ।
प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले कलेजको मूलद्वार अगाडिबाट र्याली निकालेर वीरगंजको मुख्य घण्टाघर चोकसम्म पुगेका छन्। त्यहाँ उनीहरूले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुर्ईतर्फी रूपमा अवरूद्ध भएको छ।
प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेलको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको पनि बुझिएको छ।
प्रहरीले यातायात सहज बनाउने प्रयास जारी राखेको तथा स्थिति सामान्य बनाउनेतर्फ काम भइरहेको बताएको छ।
विद्यार्थीहरूले निरन्तर रूपमा निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन्। कलेज प्रशासनले भने परीक्षा स्थगित गर्नुपर्ने कारणवारे स्पष्ट जानकारी गराएको छैन।









