वीरगंज , चैत ९ –
पर्सा जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्र पर्सा का अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा २४ हजार ९ सय ९७ मेट्रिक टन कम धान उत्पादन भएको छ।
यस वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रतिहेक्टर ३ दशमलव ६७ मेट्रिक टनका दरले कूल १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ।
गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा प्रति हेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादनदरका आधारमा १ लाख ९७ हजार ९ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो। यसरी यस वर्ष धान उत्पादन १२ दशमलव १६ प्रतिशतले घटेको तथ्यांक छ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार असोज महिनामा परेको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीका कारण धान बालीमा ठूलो क्षति पुगेको हो।
सुक्खाका कारण रोपाइँ ढिलो हुनु र दाना लाग्ने समयमा परेको भारी वर्षाले उत्पादन घटाएको उनले बताए।
जिल्लाका अधिकांश स्थानीय तहमा धान मुख्य बालीका रूपमा लगाइने भएकाले उत्पादन घट्दा किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ।









