वीरगंज , चैत ९ –
हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९०० को विन्दु पार गरेको छ। नेप्से परिसूचक आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो।
आज व्यापार समूहबाहेक सबै समूहको शेयर बढेको छ। लघुवित्त समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ भने होटल तथा पर्यटन समूह ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। बैंक, विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर पनि २ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
आज ६ वटा कम्पनीको शेयरमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने अन्य ३ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार २१ अर्ब २२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३६४ वटा कम्पनीका ६ करोड १४ लाख कित्ता शेयर २३ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ।
आजको कारोबार रकम पछिल्लो आठ महिनायताकै उच्च रहेको छ। यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यसयता पहिलो पटक कारोबार रकम २३ अर्ब रुपैयाँ नाघेको हो।









