वीरगंज , चैत ९ –
हरि खेतान बहुमुखी क्याम्पस मा देखिएको विवाद समाधानतर्फ उन्मुख भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले स्थगित परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा मा आइतबार बसेको बैठकमा क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक तथा विद्यार्थीबीच सहमति भएको जनाइएको छ। बैठकले क्याम्पस प्रशासनले आज स्थगित गरेको परीक्षा तथा पठनपाठन तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यस्तै आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने निर्णय पनि गरिएको छ। विद्यार्थीका अन्य माग तथा समस्याबारे छलफल गर्न क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थीबीच पुनः बैठक बस्ने सहमति भएको छ।
यसअघि कक्षा १२ को त्रैमासिक परीक्षा अचानक स्थगित भएपछि विद्यार्थीहरूले आन्दोलन, चक्काजाम र प्रदर्शन गरेका थिए। प्रशासनमा भएको छलफलपछि अब क्याम्पसको शैक्षिक गतिविधि नियमित गर्ने सहमति भएको जनाइएको छ।









