‘धुरन्धर २’ को बक्स अफिसमा ऐतिहासिक कमाइ, चार दिनमै ४ सय करोड नजिक

वीरगंज , ९ फागुन मिति –

बलिउड फिल्म धुरन्धर २ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ। रणवीर सिंह अभिनीत उक्त फिल्मले प्रदर्शनको चार दिनमै भारतीय बक्स अफिसमा करिब ३८३ करोड भारू नेट कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको कुल कमाइ भने ४ सय करोड नजिक पुगेको बताइएको छ।

भारतीय मनोरञ्जन पोर्टल पंक भिल्लाका अनुसार फिल्मको हिन्दी संस्करणले चौथो दिन आइतबार मात्रै भारतमा १०१ करोड भारू नेट कमाइ गरेको छ। फिल्मको चार दिनको कमाइ बलिउडमा जवान ले राखेको २४७ करोडको रेकर्डभन्दा करिब १५० करोड भारूले बढी रहेको जनाइएको छ।

फिल्मले शनिबारदेखि दक्षिण भारतीय भाषामा डब गरिएका संस्करणहरू पनि प्रदर्शनमा ल्याएको छ, जसले दुई दिनमा १५ करोड भारू नेट कमाएको बताइएको छ। क्षेत्रगत रूपमा गुजरात, मध्य भारतलगायत क्षेत्रमा आइतबार उल्लेखनीय वृद्धि देखिएको छ भने मुम्बई, राजस्थान, बिहार र पश्चिम बंगालमा पनि राम्रो व्यापार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त फिल्म आदित्य धर को निर्देशनमा बनेको स्पाइ–एक्सन थ्रिलर हो, जसमा रणवीर सिंहले अन्डरकभर एजेन्टको भूमिका निर्वाह गरेका छन्। फिल्ममा आर माधवन, अर्जुन रामपाल, संजय दत्त लगायत कलाकारको अभिनय रहेको छ।

फिल्म नेपालमा समेत प्रदर्शन भइरहेको छ र यहाँ पनि दर्शकको राम्रो उपस्थिति देखिएको छ।

सम्बन्धित पोस्टहरुः