वीरगंज, चैत १० –
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगंजको नारायणी अस्पतालमा बिचौलिया र दलालका कारण बिरामी समस्यामा परेको भन्दै तत्काल कडा कदम चाल्न प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग माग गर्नुभएको छ।
मंगलबार प्रजिअ दाहालको कार्यालयमा भएको छलफलमा सांसद कानुले निजी अस्पतालमार्फत बिरामी रेफर गर्ने, एम्बुलेन्स चालकमार्फत दलाली हुने तथा अस्पताल परिसरमा गैरकानुनी गतिविधि बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्नुभयो।
साथै, सांसद कानुले छठ पर्वमा छठघाट वरिपरि माछा–मासु बिक्री रोक्नुपर्ने र गर्मी मौसममा सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि पर्याप्त तयारी गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख जिल्ला अधिकारी दाहालले सांसदको सुझाव अनुसार अनुगमन, समन्वय र आवश्यक कारबाही अघि बढाइने प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा रास्वपाका युवा नेता, क्षेत्रीय सभापति तथा अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए।







