जितपुर , १० चैत्र –
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजारमा फुटपाथ व्यवसायका कारण अव्यवस्था दिन प्रतिदिन बढ्दै गएको छ। स्थानीयका अनुसार बजार व्यवस्थापन, सरसफाइ र यातायात सुधारका प्रयास पटकपटक भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
बजार उपमहानगरपालिकाभित्रकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो र यहाँ मकवानपुरसहित विभिन्न स्थानबाट ग्राहक आउने गर्छन्। नगरपालिकाले वार्षिक करोडौँ रुपैयाँ राजस्व संकलन गरिरहेको भए पनि फुटपाथ र सरसफाइ व्यवस्थापन प्रभावकारी भएको छैन।
स्थानीयले नगरप्रमुख राजन पौडेलले सिमरा क्षेत्रमा बढी ध्यान दिएको, तर जीतपुर बजारमा पूर्वाधार कमजोर र व्यवस्थापन अपर्याप्त भएको गुनासो गरेका छन्। सडकमा व्यवसायीहरूले सामान राख्दा आवतजावत प्रभावित भएको, विवाद हुने र नगरप्रहरी कहिलेकाहीँ मात्र उपस्थित हुने समेत उनीहरूको आरोप छ।









