५४ दिनमा पनि पत्ता लागेन हत्या प्रकरणका दोषी

सिरहा, ११ चैतः गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।

मृतक यादवका दुई नाबालक छोरा छन् । घरको मुख्य सहाराकै हत्यापछि परिवार विचल्लीमा परेको छ । कक्षा १० मा अध्ययनरत जेठो छोरो रामजनम यादवले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताउनुभयो । “हाम्रो सहारा बुवा नै हुनुहुन्थ्यो, अब हाम्रो भविष्य अन्योलमा परेको छ”,  उहाँले भन्नुभयो ।

घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढेको छ । मृतकका भाइ अभयनाथ यादवले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, “प्रहरीले अनुसन्धान भइरहेको छ मात्रै भन्छ, तर अहिलेसम्म दोषी पत्ता लागे नलागेका बारेमा कुनै जानकारी दिन सकेको छैन ।”

प्रहरीले सुरुमा घटनाका प्रत्यक्षदर्शी रामविलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो । पीडित पक्षले हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी न्यायको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म शङ्कास्पद १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ ।

प्रहरीले यस घटनाको गम्भीरतालाई हेरेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँगको समन्वयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक पाठकले भन्नुभयो, “अनुसन्धानका क्रममा केही महत्वपूर्ण सूचना प्राप्त भएका छन् । शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउपर्नेमा हामी विश्वस्त छौँ ।” 

रासस

सम्बन्धित पोस्टहरुः