नवनिर्वाचित सांसदको शपथ आज दिउँसो २ बजे

वीरगंज , १२ चैत्र –

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराइसक्नुभएको छ।

सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्। तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी रहेको छ। संविधानको धारा ९९ र धारा ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ।

सङ्घीय संसद् सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः