लस एन्जलस, क्यालिफोर्निया। अमेरिकाको क्यालिफोर्नियामा चलेको एक ऐतिहासिक मुद्दामा जूरीले प्रविधि कम्पनीहरू मेटा र युट्यूवलाई सामाजिक सञ्जालको लत गराउने डिजाइनका कारण एक युवतीको मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्याएको ठहर गर्दै दोषी ठहर गरेको छ।
जूरीको निर्णयअनुसार यी कम्पनीहरूले आफ्नो प्लेटफर्मको डिजाइन गर्दा लापरवाही गरेका, त्यसको सम्भावित जोखिमबारे प्रयोगकर्तालाई चेतावनी नदिएका तथा त्यसबाट पीडितलाई ठूलो क्षति पुगेको निष्कर्ष निकालिएको हो।
यो निर्णयले सामाजिक सञ्जाल कम्पनीहरू विरुद्ध दायर भएका सयौँ समान प्रकृतिका मुद्दाहरूमा महत्वपूर्ण नजीर स्थापित गर्न सक्ने कानुनी विश्लेषकहरूले बताएका छन्।
यसले विशेषगरी किशोर-किशोरी प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जाल सञ्चालन गर्ने तरिकामा ठूलो परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ। साथै, यसले प्रविधि कम्पनीहरूलाई करोडौँदेखि अर्बौँ डलरसम्मको आर्थिक क्षति समेत हुन सक्ने सम्भावना देखिएको छ।
किशोरीको मानसिक स्वास्थ्यमा गम्भीर असर
क्यालिफोर्नियाकी अहिले २० वर्षीया युवती ‘केली’ र उनकी आमाले मेटा, युट्यूव, स्न्याप र टिकटक विरुद्ध मुद्दा दायर गरेका थिए।
उनीहरूले ती कम्पनीहरूले बाल्यकालमै उनलाई जानाजानी सामाजिक सञ्जालमा निर्भर बनाएको, जसका कारण उनलाई चिन्ता, शरीरप्रति असन्तुष्टि तथा आत्महत्याको सोचसम्म पैदा भएको आरोप लगाएका थिए।
मुद्दाको सुनुवाइ सुरु हुनुअघि स्न्याप र टिकटकले सम्झौतामार्फत विवाद टुंग्याएका थिए।
७ हप्ताको सुनुवाइपछि निर्णय
लस एन्जलसस्थित उच्च अदालतमा सात हप्तासम्म चलेको सुनुवाइपछि जूरीले आठ दिनभन्दा बढी छलफल गरेर निर्णय सुनाएको हो।
जूरीले कम्पनीहरूलाई क्षतिपूर्तिस्वरूप कुल ३० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ। यसमध्ये मेटाले ७० प्रतिशत जिम्मेवारी वहन गर्ने युट्युवले ३० प्रतिशत जिम्मेवारी वहन गर्ने
निर्णयमा उल्लेख गरिएको छ।
यसका अतिरिक्त जूरीले युट्युवलाई थप ९ लाख डलर र मेटालाई २१ लाख डलर जरिवानासमेत तिर्न सिफारिस गरेको बताइएको छ।
कम्पनीहरूको प्रतिक्रिया
निर्णयप्रति असहमति जनाउँदै मेटा र युट्युवले अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने बताएका छन्। मेटाका प्रवक्ताले भने, “किशोर–किशोरीको मानसिक स्वास्थ्य अत्यन्त जटिल विषय हो। यसलाई कुनै एउटै एपसँग मात्र जोड्न मिल्दैन।”
त्यस्तै गुगलका प्रवक्ता जोसे कास्टानेडाले युट्युबलाई “जिम्मेवारीपूर्वक बनाइएको स्ट्रिमिङ प्लेटफर्म” भएको बताएका छन्।
सयौँ नयाँ मुद्दाको संकेत
केलीको मुद्दा सामाजिक सञ्जाल कम्पनीहरू विरुद्ध दायर भएका करिब १५०० भन्दा बढी मुद्दामध्ये अदालतसम्म पुगेको पहिलो मुद्दा हो। यस निर्णयले अन्य मुद्दाहरूको समाधानमा मार्गदर्शन गर्न सक्ने कानुनी विशेषज्ञहरूको भनाइ छ।
यदि यस्ता मुद्दामा लगातार हार बेहोर्नुपरेमा प्रविधि कम्पनीहरूले अर्बौँ डलर क्षतिपूर्ति तिर्नु पर्ने र आफ्नो प्लेटफर्मको डिजाइनमा ठूलो परिवर्तन गर्नुपर्ने सम्भावना पनि रहेको छ।
सामाजिक सञ्जालको भविष्यमा प्रभाव
यो निर्णयलाई सामाजिक सञ्जाल उद्योगका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। लामो समयदेखि अभिभावक, अधिकारकर्मी र सांसदहरूले बालबालिकाको अनलाइन सुरक्षाका लागि कडा नियमको माग गर्दै आएका थिए।
अनलाइन सुरक्षा संस्था Common Sense Media का संस्थापक James Steyer ले भने, “यदि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिएका भए यस्तो मुद्दा अदालतसम्म पुग्नुपर्ने थिएन।”
अदालतमा पेश भएका आन्तरिक कागजातहरूले कम्पनीहरूले किशोर प्रयोगकर्तालाई आकर्षित गर्न विभिन्न रणनीति अपनाएको र ‘ब्यूटी फिल्टर’ जस्ता सुविधाले किशोरहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको तथ्य समेत सार्वजनिक भएको छ।
विशेषज्ञहरूका अनुसार यो फैसला सामाजिक सञ्जालको नियमन र अनलाइन सुरक्षासम्बन्धी कानुन निर्माणका लागि महत्वपूर्ण आधार बन्न सक्नेछ।









